१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

झापा प्रशासनले एक वर्षमा १५ करोडभन्दा बढी राजस्व उठायो



बिर्तामोड– जिल्ला प्रशासन कार्यालय झापाले गत आर्थिक वर्षमा १५ करोड ३१ लाख २३ हजार ५११ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रस्तुत गरेको विवरणअनुसार कुल राजस्वमध्ये राहदानी शुल्कबाट मात्रै १४ करोड ७० लाख ७९ हजार ४५१ रुपैयाँ सङ्कलन भएको छ ।

अन्य विभिन्न सेवा तथा शुल्कबापत ६० लाख ४४ हजार ६० रुपैयाँ राजस्व उठेको प्रशासनले जनाएको छ ।

झापामा जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय दमकगौरीगञ्जबाट पनि राहदानी वितरण हुँदै आएको छ ।

गत आर्थिक वर्षमा दमकबाट ३ करोड ५३ लाखभन्दा बढी र गौरीगञ्जबाट १ करोड ३६ लाख २४ हजार रुपैयाँ राहदानी शुल्क सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार ००:००  ८ : ५२ बजे