१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

देवानगञ्ज घटना : मृतकका परिवारलाई २ लाख दिने निर्णय



विराटनगर-सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने कोशी प्रदेश सरकारले घोषणा गरेको छ ।

आगजनीबाट घर, पसल तथा अन्य संरचनामा क्षति पुगेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव, शान्ति र सुरक्षा सुदृढ गर्ने उद्देश्यका आठबुँदे निर्णय सार्वजनिक गरेको हो ।

साउन १० गते देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले बैठक आयोजना गरेको थियो।

बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ ।

स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

त्यस्तै, स्थानीय प्रशासनसँगको समन्वयमा समुदायस्तरमा सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलापका कार्यक्रम सञ्चालन गरिने निर्णय पनि बैठकले गरेको छ ।

सबै धार्मिक समुदायका संघसंस्थाले संयुक्त अपिल जारी गर्दै सामाजिक सहिष्णुता कायम गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा बैठकले जोड दिएको छ।

बैठकले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता बढाउने, घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव जोगाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सबै सरोकारवालालाई आग्रह गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार ००:००  ३ : ३३ बजे