८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध



बिर्तामोड-पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा पुराना पाइपलाइनमा क्षति पुगेपछि बिर्तामोड क्षेत्रको नियमित खानेपानी आपूर्तिमा समस्या देखिएको छ ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले भने विद्यमान चुनौतीका बाबजुद शुद्ध खानेपानीको पहुँच विस्तार र सेवा गुणस्तर सुधारमा आफ्नो प्रतिबद्धता कायम रहेको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै संस्थाले सडक विस्तारका क्रममा पाइपलाइन, भल्भ र चेम्बरमा क्षति पुग्दा केही स्थानमा नियमित पानी वितरण प्रभावित भएको जनाएको हो ।

प्रभावित उपभोक्ताप्रति क्षमा माग्दै संस्थाले वितरण प्रणालीलाई थप स्मार्ट, प्रभावकारी र उपभोक्तामैत्री बनाउन प्रविधिको प्रयोग बढाइएको जनाएको छ ।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले करिब ३० वर्षअघि बिछ्याइएका पाइपलाइन अहिले सडकको बीचभाग र गहिराइमा परेकाले मर्मर र नयाँ धारा जडानमा कठिनाइ भइरहेको बताए ।

“सडक र ढल निर्माणसँगै पुराना संरचनामा क्षति पुगेको छ,” उनले भने, “यही कारण केही उपभोक्ता अस्थायी रूपमा शुद्ध खानेपानी सेवाबाट प्रभावित भएका छन् ।”

बढ्दो जनसङ्ख्या र पानीको मागलाई मध्यनजर गर्दै बसपार्क क्षेत्रमा नयाँ बोरिङ जडानको काम अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । आगामी दिनमा चारपाने चोकदेखि दक्षिणतर्फ बारदशी र हल्दिबारी सीमासम्म नयाँ आयोजना विस्तार गरी सेवा पुर्‍याउने तयारीसमेत गरिएको छ ।

संस्थाले बिर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालन हुने खानेपानी आयोजनालाई क्रमशः एकीकृत सामुदायिक खानेपानी प्रणालीमा आबद्ध गर्ने नीति लिएको जनाएको छ। पानी उत्पादन बढाउन थप स्रोतको खोजी र नयाँ पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको अध्यक्ष बाँस्तोलाले बताए ।

हाल संस्थाले बिर्तामोडका १० वटै वडा तथा अर्जुनधारा नगरपालिकाको ५, ६ र ११ का केही क्षेत्रमा सेवा दिइरहेको छ । करिब ५७५ किलोमिटर पाइपलाइन र ११ हजार धारामार्फत करिब एक लाख उपभोक्ताले खानेपानी सेवा लिइरहेका छन् ।

अध्यक्ष बाँस्तोलाका अनुसार चारआली देवनियापुरदेखि लक्ष्मीपुर-घाग्रापुलसम्म एसियन हाइवे विस्तारका कारण पुराना पाइपलाइनमा ठूलो क्षति पुगेको छ । त्यसको विकल्पस्वरूप कालिका कन्स्ट्रक्सन प्रालिमार्फत नयाँ पाइपलाइन विस्तारको काम भइरहेको छ ।

आगामी आर्थिक वर्षभित्र डिप बोरिङ गरिएको स्थानमा थप फिल्टर प्लान्ट जडान, २०० केभीएको ट्रान्सफर्मर स्थापना तथा पानी उत्पादन क्षमता वृद्धि गर्ने काम सम्पन्न गर्ने लक्ष्य संस्थाले लिएको जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार ००:००  २ : २८ बजे