बिर्तामोड– कोशी प्रदेश माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले संविधान संशोधनको नाममा सरकारले संवैधानिक निकायहरूलाई आफ्नो नियन्त्रणमा लिन खोजेको आरोप लगाएका छन् ।
प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको डी. कौडिन्य पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै आङ्बोले सरकारले गठन गरेको संविधान संशोधन कार्यदलप्रति गम्भीर आपत्ति जनाए ।
सरकारले संविधानका सबै मूलभूत व्यवस्थामा संशोधन गर्ने उद्देश्यका साथ अघि बढेको उनले दाबी गरे । आङ्बोले संविधान संशोधन आवश्यक भए पनि त्यसका लागि व्यापक राजनीतिक सहमति, जनचाहना र लोकतान्त्रिक प्रक्रियाको पालना हुनुपर्ने बताए ।
वर्तमान सरकारले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावमा पार्ने उद्देश्यले संशोधनको बहाना बनाएको उनको आरोप थियो ।
उनले लोकतान्त्रिक प्रणाली, प्रेस स्वतन्त्रता र संविधानले सुनिश्चित गरेका संस्थागत व्यवस्थाको रक्षा सबै राजनीतिक दल र नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै संविधान संशोधनका नाममा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए।


















