५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

समता कर खारेज गर्ने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा



काठमाडौं– नेपाली कांग्रेसले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको निर्णय सकारात्मक र उपयुक्त भएको बताएका हुन् ।

थापाले नेपालको वर्तमान शिक्षा र स्वास्थ्य प्रणालीमा निजी क्षेत्रलाई पूर्ण रूपमा अलग राख्न सकिने अवस्था नरहेको उल्लेख गर्दै निजी सेवा उपयोग गर्नेहरूमाथि अतिरिक्त कर लगाएर अन्य वर्गलाई सहयोग गर्ने अवधारणा सुरुदेखि नै व्यावहारिक नभएको कांग्रेसको धारणा रहेको बताए ।

उनका अनुसार सरकारले समता कर खारेज गरेर व्यावहारिक निर्णय लिएको छ । थापाले यसै सन्दर्भमा विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सर्वसाधारणमाथि अतिरिक्त भार पर्ने अन्य अव्यावहारिक करसमेत पुनरावलोकन गरी हटाउन सरकारसँग आग्रह गरे ।

सरकारले मंगलबार निजी शिक्षा र स्वास्थ्य सेवामा लागू गरिएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयपछि सत्तारुढ दल नेपाली कांग्रेसले यसलाई जनहितमा गरिएको कदमका रूपमा स्वागत गरेको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार ००:००  ६ : ०० बजे