५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

शैक्षिक परामर्श नियमावलीप्रति बिर्तामोड उद्योग वाणिज्य संघको आपत्ति



झापा– शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का केही प्रावधानप्रति बिर्तामोड उद्योग वाणिज्य संघले कडा आपत्ति जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै संघले निजी क्षेत्रसँग पर्याप्त परामर्शबिनै नियमावली लागू गरिएकाले धरौटी, पूर्वाधार, संस्थाको वर्गीकरण, अनुमति तथा नवीकरणलगायतका व्यवस्था अव्यावहारिक रहेको जनाएको छ ।

यस्ता प्रावधानले वैधानिक रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र र तयारी कक्षाको सञ्चालन थप खर्चिलो, जटिल र निरुत्साहित हुने संघको भनाइ छ ।

संघले आर्थिक मन्दी, लगानी सुस्तता र रोजगारी संकटको अवस्थामा थप नीतिगत जटिलताले व्यवसाय संकुचन, लगानी पलायन र बेरोजगारी बढाउने चेतावनी दिएको छ ।

यसले विद्यार्थी, अभिभावक र समग्र शिक्षा प्रणालीमै दीर्घकालीन नकारात्मक असर पार्ने दाबी गर्दै संघले विवादित प्रावधान तत्काल पुनरावलोकन गरी व्यवसायमैत्री र व्यवहारिक नियमावली ल्याउन सरकारसँग माग गरेको छ ।

संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा क्षेत्रको गुणस्तर कायम राख्दै निजी क्षेत्रको लगानी, रोजगारी र सेवा प्रवाह संरक्षण हुने गरी नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार ००:००  ७ : ५३ बजे