झापा-जनपक्षीय पत्रकार स्वर्गीय देवकुमार आचार्य (डी कौडिन्य)को स्मृतिमा स्थापना गरिएको ‘डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार चुडामणि तिम्सिना (सिएम शर्मा)लाई प्रदान गरिने भएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाको शुक्रबार बिर्तामोडमा बसेको बैठकले ठोसखबर डटकमका सम्पादक तिम्सिनालाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार आगामी साउन ७ गते स्वर्गीय आचार्यको स्मृति दिवसका अवसरमा प्रदान गरिने प्रेस सेन्टर नेपाल झापाका सचिव प्रकाश उप्रेतीले जानकारी दिए । प्रत्येक वर्ष प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ ।
जनपक्षीय पत्रकार तथा साहित्यकार देवकुमार आचार्य (डी कौडिन्य)लाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी झापाको चारआली ब्यारेकमा लगेर हत्या गरेको थियो ।
उहाँको स्मृतिलाई जीवित राख्ने उद्देश्यले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले हरेक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने एक जना पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।


















