झापा– नेपाली कांग्रेसले साउन ७ गतेदेखि पार्टीलाई निर्वाचनमुखीभन्दा नागरिकका दैनिक सरोकारका मुद्दामा केन्द्रित गर्ने उद्देश्यसहित नयाँ अभियान सुरु गर्ने भएको छ ।
संशोधित विधानको मर्मअनुसार संगठनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
पार्टीका सभापति गगन थापाले साउन ७ गतेदेखि अभियान औपचारिक रूपमा प्रारम्भ हुने जानकारी दिँदै यसले कांग्रेसलाई ‘इलेक्सन सेन्ट्रिक’ (निर्वाचन केन्द्रित) बाट ‘सिभिक सेन्ट्रिक’ (नागरिक केन्द्रित) पार्टीमा रूपान्तरण गर्ने उद्देश्य राखेको बताए ।
उनका अनुसार कांग्रेसको संशोधित विधानले प्रत्येक तहका समितिका सदस्यलाई ५० प्रतिशत समय संगठन निर्माण र ५० प्रतिशत समय सामाजिक कार्यमा सक्रिय हुनुपर्ने व्यवस्था गरेको छ ।
महामन्त्री प्रदीप पौडेलले अभियानको समयावधि, कार्यविधि र सञ्चालन मोडालिटीबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए । उनका अनुसार यसअघि सञ्चालन गरिएको ‘जरा अभियान’ सम्पन्न भएपछि नयाँ अभियान सुरु गर्न लागिएको हो ।


















