झापा-कोशी प्रदेशमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या पछिल्ला तीन आर्थिक वर्षमा निरन्तर बढ्दै गएको देखिएको छ ।
इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार २९ गतेसम्म प्रदेशभर ६ हजार ३६० वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा ४३६ जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम अधिकारीले जानकारी दिए ।तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा सवारी दुर्घटनाबाट ४१८ जनाको मृत्यु भएको थियो ।
२०८०/०८१ मा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३९७ रहेको थियो । यसले प्रदेशमा सवारी दुर्घटनाका कारण हुने मानवीय क्षति वर्षेनी बढ्दै गएको देखाउँछ ।
यस्तै, चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले ९३ हजार ६७२ वटा सवारीसाधनलाई कारबाही गरेको छ । ती कारबाहीबाट ९ करोड २७ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको डीएसपी अधिकारीले बताए ।
तर, राजस्व संकलन भने अघिल्ला दुई आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कारबाहीबाट १७ करोड ३१ लाख १५ हजार रुपैयाँ र २०८१/०८२ मा १७ करोड २९ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
दुर्घटनाबाट हुने मानवीय क्षति बढिरहँदा सडक सुरक्षा, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा चालकको जिम्मेवार व्यवहारमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।


















