काठमाडौं- उपत्यकामा बर्डफ्लु संक्रमण फैलिएसँगै खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय ५० देखि १ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । केही साताअघि १ हजार २ सयदेखि १ हजार ३ सय रुपैयाँमा पाइने मासु अहिले ३ सयदेखि ४ सय रुपैयाँसम्म महँगिएको हो ।
व्यवसायीले जिउँदो खसीको अभाव र खरिद मूल्य बढेकाले मासुको मूल्य बढाउनुपरेको बताएका छन् । काठमाडौंमा दैनिक १ हजार ४ सयदेखि १ हजार ५ सय खसीबोकाको माग रहे पनि करिब १ हजार मात्रै आपूर्ति हुने उनीहरूको दाबी छ ।
नेपाल व्यावसायिक बाख्रापालक महासंघले भने अभावभन्दा पनि बिचौलियाको चलखेलका कारण मूल्य अस्वाभाविक रूपमा बढाइएको आरोप लगाएको छ ।
महासंघका अनुसार किसानले अझै पनि उत्पादन लागतभन्दा कम मूल्यमा खसीबोका बेच्न बाध्य छन् भने उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ ।
भारतमा ‘पीपीआर’ रोग देखिएपछि सरकारले जिउँदो खसीबोका आयातमा रोक लगाएपछि पनि बजारमा आपूर्तिमा दबाब परेको व्यवसायीहरूको भनाइ छ । उता पशु सेवा विभागले भने अहिले बाहिरबाट खसीबोका आयात गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।
यसैबीच बर्डफ्लु नियन्त्रणका क्रममा देशभर करिब ६ लाख ५० हजार कुखुरा नष्ट गरिसकिएको विभागले जनाएको छ। काठमाडौं उपत्यकामा संक्रमण घट्दो क्रममा रहे पनि काभ्रेपलाञ्चोकका केही क्षेत्रमा अझै संक्रमण देखिइरहेको छ।


















