झापा– वैदेशिक रोजगारीबाट फर्किएका तथा आर्थिक रूपमा विपन्न १५ युवालाई शिवसताक्षी नगरपालिकामा स्वरोजगार सुरु गर्न ५० हजार रुपैयाँ बराबरका व्यवसायिक सामग्री हस्तान्तरण गरिएको छ ।
कारितास नेपालले सञ्चालन गरिरहेको ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत तेस्रो वर्षको जीविकोपार्जन सहयोग कार्यक्रममार्फत मंगलबार नगरपालिकाको कार्यालय परिसरमा सामग्री वितरण गरिएको हो ।
परियोजनाअन्तर्गत नगरपालिकाका वडा नम्बर १, ४, ७, ८ र ११ बाट छनोट गरिएका प्रत्येक वडाका तीन/तीन जना गरी १५ लाभग्राहीलाई व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको परियोजना परिचालक चिरञ्जिवी लुइँटेलले जानकारी दिए ।
कार्यक्रममा नगर प्रमुख मेगाहाङ थोप्राले वैदेशिक रोजगारीबाट फर्किएका तथा आर्थिकरूपमा कमजोर युवालाई स्थानीयस्तरमै आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले सहयोग गरिएको बताए । उनले उपलब्ध गराइएका सामग्रीको प्रभावकारी उपयोग गर्दै व्यवसायलाई दीर्घकालीन बनाउन लाभग्राहीलाई आग्रह गरे ।
वडा नम्बर १ का लाभग्राहीले निर्माण कार्यका उपकरण, चिया पसल सञ्चालनका सामग्री तथा चटपटे, चाउमिन र मःम पसलका लागि ठेलागाडा, ग्यास सिलिन्डरलगायत सामग्री प्राप्त गरेका छन ।
वडा नम्बर ४ मा दुई जनालाई चटपटे व्यवसायका लागि आवश्यक सामग्री र एक जनालाई किराना पसल सञ्चालनका सामग्री उपलब्ध गराइएको छ ।
वडा नम्बर ७ का दुई जनालाई उन्नत जातका गाई तथा एक जनालाई साइकल र मोटरसाइकल मर्मतका लागि आवश्यक औजार तथा स्पेयर पार्ट्स प्रदान गरिएको छ ।
वडा नम्बर ८ मा एक जनालाई आल्मुनियम फेब्रिकेसनका उपकरण, अर्का एक जनालाई तरकारी तथा किराना पसल सञ्चालनका सामग्री र एक जनालाई व्यवस्थित मासु पसल निर्माण गरी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै वडा नम्बर ११ का दुई जनाले उन्नत जातका गाई र एक जनाले व्यावसायिक रुख कटानका लागि चेनस मेसिन प्राप्त गरेका छन ।
कारितास नेपालका अनुसार कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका तथा आर्थिक रूपमा कमजोर युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्न, उद्यमशीलता प्रवर्द्धन गर्न र आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कारितास नेपाल प्रादेशिक कार्यालयका प्रमुख शंकरकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, सम्बन्धित वडाका वडाध्यक्ष तथा परियोजनाका प्रतिनिधिको उपस्थिति थियो ।


















