१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

खेलकुदमा बिर्तामोडको फड्को : वर्षेनी ४० लाख बजेट लगानी



बिर्तामोड-योजनाबद्ध कार्यक्रम, नियमित प्रतियोगिता र वडास्तरसम्म फैलिएको संगठनात्मक संरचनाका कारण बिर्तामोडमा खेलकुद गतिविधिले पछिल्ला वर्षमा उल्लेखनीय गति लिएको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको सक्रियतासँगै नगरमा खेलकुद गतिविधिमा नयाँ आयाम थपिएको हो ।

खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनका लागि बिर्तामोड नगरपालिकाले हरेक वर्ष नगर खेलकुद विकास समितिमार्फत खर्च हुने गरी ४० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । यसबाहेक विभिन्न खेल गतिविधिका लागि आवश्यकताअनुसार अतिरिक्त बजेटसमेत परिचालन हुने गरेको छ । समितिलाई प्राप्त बजेटसँगै वडाहरूले आफ्नो सिलिङ बजेटबाट वार्षिक २ देखि ५ लाख रुपैयाँसम्म खेलकुदमा लगानी गर्दै आएका छन् ।

उर्जाशील युवा विकास गिरी नेतृत्वको समितिले आफ्नै वार्षिक कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ भने नगरका सबै वडामा खेलकुद समितिको संगठनात्मक संरचना निर्माण गरिएको छ । ती वडा समिति स्थानीयस्तरमा विभिन्न प्रतियोगिता तथा खेल गतिविधि सञ्चालन गर्न सक्रिय छन् ।

समितिको आयोजनामा हुने वडास्तरीय फुटबल प्रतियोगिता नगरको प्रमुख आकर्षणमध्ये एक बनेको छ । त्यस्तै अन्तरपालिका भलिबल प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गरेको छ । समितिका सदस्य विशाल अग्रवालका अनुसार फुटबल र भलिबलका अन्तरपालिका प्रतियोगिताले खेलाडीमा आत्मविश्वास र उत्साह बढाएको छ ।

बिर्तामोड अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा दुई पटक झापा च्याम्पियन बन्न सफल भइसकेको छ । गतवर्ष नगर खेलकुद विकास समितिकै आयोजनामा राष्ट्रियस्तरको बास्केटबल प्रतियोगिता सम्पन्न भएको थियो भने हालै साझेदारीमा राष्ट्रिय स्नुकर प्रतियोगिता पनि सफलतापूर्वक आयोजना गरिएको छ ।

बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विसन लिम्बू नगरभित्र कुनै एक खेललाई मात्र नभई सबै खेल विधालाई समान प्राथमिकताका साथ अघि बढाइएको बताउँछन् । उनका अनुसार नगरपालिकाले खेलकुदको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको छ ।

अन्तरपालिका प्रतियोगितामा बिर्तामोडले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै उनले त्यसले नगरको खेलकुद क्षमता विस्तार भएको बताए । सचिव लिम्बूका अनुसार नगरका सबै वडामा खेलकुद विकास समिति सक्रियरूपमा परिचालन भएका छन् ।

वडास्तरमै वार्षिक खेलकुद क्यालेन्डर निर्माण गरी सोहीअनुसार विभिन्न प्रतियोगिता र कार्यक्रम सञ्चालन गर्ने अभ्यासलाई प्राथमिकता दिइएको छ । उनले खेलकुद गतिविधिलाई तल्लो तहसम्म विस्तार गरिएकाले बालबालिका र युवामा खेलप्रतिको आकर्षण बढ्दै गएको बताए ।

स्थानीय प्रतिभाको पहिचान, खेलाडी उत्पादन र खेल संस्कृतिको विकासका लागि वडा, नगर र सम्बन्धित सरोकारवालाबिच समन्वयात्मकरूपमा काम भइरहेको छ ।

लिम्बूले योजनाबद्ध कार्यक्रम, नियमित प्रतियोगिता र सबै खेल विधाप्रति समान अवसर प्रदान गर्ने नीतिमार्फत बिर्तामोडलाई खेलकुदमैत्री नगरका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत बताए ।

महिला खेलकुद प्रवर्द्धनमा पनि बिर्तामोडले नयाँ अभ्यास सुरु गरेको छ । करिब २४ लाख रुपैयाँ लागतमा सम्पन्न अन्तरपालिका महिला फुटबल प्रतियोगिताले नगरको खेल इतिहासमा नयाँ अध्याय थपेको सदस्य अग्रवाल बताउँछन् । बिर्तामोडको पहलपछि अन्य स्थानीय तहले समेत महिला फुटबल प्रतियोगिता आयोजना गर्न थालेका छन् ।

नगरपालिकाकै पहलमा तीन वर्षअघि सञ्चालन भएको कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताले व्यवसायिक क्षेत्र र खेलकुदबीच सहकार्यको वातावरण सिर्जना गर्नुका साथै क्रिकेटप्रतिको आकर्षण बढाएको थियो ।

समितिले आधुनिक खेलसँगै रैथाने खेलको संरक्षण र प्रवर्द्धनलाई पनि प्राथमिकता दिएको छ। खेलकुद महोत्सवअन्तर्गत विद्यालयस्तरमा निबन्ध लेखन र चित्रकला प्रतियोगिता आयोजना गरी विद्यार्थीको सिर्जनशीलता तथा अन्तरनिहित प्रतिभा विकासमा जोड दिइएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालगायत विद्यालयस्तरीय खेलकुद कार्यक्रमलाई पनि समितिले निरन्तर सहयोग गर्दै आएको छ । झापाली खेलप्रेमीको गौरवका रूपमा स्थापित झापा गोल्डकपजस्ता प्रतिष्ठित प्रतियोगितामा समेत नगरपालिकाले नियमित सहयोग प्रदान गरिरहेको छ ।

समितिले एउटै खेलमा सीमित नबसी एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डो, उसु लगायतका विभिन्न विधालाई समेटेर स्पोर्ट्स क्यालेन्डर निर्माण गर्ने तयारी गरेको छ । यसले वर्षभरिका प्रतियोगितालाई व्यवस्थित र पूर्वयोजनाबद्ध बनाउने अपेक्षा गरिएको छ ।

समितिले आफ्ना सम्पूर्ण गतिविधिलाई डिजिटल माध्यममा लैजान आफ्नै वेबसाइट निर्माण गर्ने लक्ष्यसमेत अघि सारेको छ । साथै दातृ निकायको सहयोगमा ३०० खेलाडीका लागि स्वास्थ्य बीमा सुनिश्चित गरिसकेको सदस्य अग्रवालले जानकारी दिए ।

उनका अनुसार खेलकुदको दिगो विकासका लागि विद्यालयलाई केन्द्रमा राख्न आवश्यक छ । विद्यालयका खेल शिक्षकसँग नियमित समन्वय बैठक, स्पष्ट कार्यविधि र प्रभावकारी अनुगमन गर्न सके बिर्तामोडले खेल क्षेत्रमा अझ ठूलो फड्को मार्ने विश्वास उनले व्यक्त गरे ।

साथै नगर खेलकुद विकास कोष स्थापना गर्न सके खेलाडी उत्पादन, प्रतियोगिता व्यवस्थापन र खेल पूर्वाधार विकासमा दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ ।

वडादेखि राष्ट्रियस्तरसम्मका प्रतियोगिता, महिला खेलकुदको प्रवर्द्धन, विद्यालयसँगको सहकार्य, खेलाडीको स्वास्थ्य सुरक्षादेखि डिजिटल प्रणालीसम्मका योजनाले बिर्तामोड नगर खेलकुद विकास समितिले नगरलाई खेलकुदको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने प्रयासलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार ००:००  १ : ३६ बजे