९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि



बिर्तामोड-नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापनइतर पक्षले उठाउँदै आएको केन्द्रीय कार्यसमितिमा थप सदस्य समावेश गर्ने माग अस्वीकार गर्दै पार्टी विधान र राजनीतिक दुवै हिसाबले त्यस्तो प्रस्ताव स्वीकार्य नहुने बताएका छन ।

जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन मंगलबार झापा आएका थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित संरचनाभित्र फेरि अर्को समूहलाई व्यवस्थापन गर्ने प्रस्ताव अस्वीकार्य रहेको बताएका हुन् ।

´मलाई चाँडो महाअधिवेशन गर भन्नुभयो भने गर्छौं, निष्पक्ष गर भन्नुभयो भने गर्छौं` सभापति थापाले भने, ´तर यो कमिटीभित्र फेरि अर्को कमिटी मिलाउनुपर्छ भन्नुहुन्छ भने त्यो माग नै मिलेन । १४ औँ महाधिवेशनबाट निर्वाचित संरचनामा अरूलाई मिसाउने कुरा विधानले पनि मिल्दैन, राजनीतिले पनि मिल्दैन।´

उनले संस्थापनइतर नेताहरूलाई व्यवहारिक र सम्भव मागमा केन्द्रित हुन आग्रह गर्दै मिल्दै नमिल्ने प्रस्ताव त्याग्नुपर्ने बताए । पार्टीको क्रियाशील सदस्यता नवीकरणबारे पनि उनले कडा सन्देश दिएका छन ।

नवीकरण नभएका सदस्यलाई व्यक्तिगतरूपमा सम्मान गरे पनि पार्टीको आधिकारिक प्रणालीले सदस्यका रूपमा नचिन्ने उनको भनाइ थियो ।

´अद्यावधिक नभएका साथीहरूलाई कांग्रेसले सम्मान गर्छ, माया गर्छ। तर पार्टी सदस्यका रूपमा चिन्दैन । सिस्टमले चिन्दैन´ उनले भने, ‘वडा अधिवेशन सुरु भएपछि नवीकरण नभएका नामहरू प्रतिनिधिको सूचीमै आउँदैनन ।´

थापाले पछिल्ला आठ–दस वर्षमा आन्तरिक विवाद र गुटगत राजनीतिका कारण कांग्रेस कमजोर बनेको उल्लेख गर्दै अब सुधार र रूपान्तरणको यात्रामा अघि बढ्नुपर्ने बताए ।

´पार्टीलाई छिया–छिया बनाउने अभ्यास अब दोहोरिनु हुँदैन` उनले भने, ´सुधारको संकल्पलाई कमजोर बनाउने कुनै पनि प्रस्ताव स्वीकार गरेर अगाडि बढ्न सकिँदैन ।´

पुराना पुस्ताका नेताहरूप्रति संकेत गर्दै थापाले नेतृत्व पुस्तान्तरणको बहससमेत उठाए। ´सबै अवसर र जिम्मेवारी पाइसक्नुभएको पुस्ताबाटै सबैभन्दा धेरै गुनासो किन आउँछ ?` भन्दै उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउन आग्रह गरे ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार ००:००  ९ : १२ बजे