बिर्तामोड-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमको आर्थिक अवस्था चुनौतीपूर्ण बन्दै गएको निष्कर्ष प्रस्तुत गरेको छ । सञ्चार संस्थाको आम्दानी र खर्चबिचको असन्तुलन बढ्दै जाँदा सञ्चारमाध्यम सञ्चालन, जनशक्ति व्यवस्थापन र गुणस्तरीय पत्रकारिता प्रभावित हुने जोखिम रहेको महासंघले जनाएको छ ।
फोनिज झापाको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा आइतबार बिर्तामोडमा आयोजित ‘झापामा सञ्चार : नीति र बजारको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष अर्जुन राजवंशीले जिल्लाका सञ्चारमाध्यमको अवस्था समेटिएको कार्यपत्र प्रस्तुत गर्दै सञ्चार संस्थाले भोगिरहेका आर्थिक चुनौतीबारे तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
उनले प्रशासनिक खर्च, पत्रकार तथा कर्मचारी व्यवस्थापन, प्रविधि सञ्चालन र संस्थागत दायित्वका कारण सञ्चारमाध्यमको खर्च निरन्तर बढ्दै गएको तर आम्दानीका स्रोत अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए । बजारको सीमितता, विज्ञापन आम्दानीमा आएको कमी तथा सञ्चार नीतिसम्बन्धी अस्पष्टताले स्थानीय सञ्चारमाध्यम थप दबाबमा परेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि फोनिज संघीय परिषद्का उपाध्यक्ष अर्जुन जम्नेली राईले डिजिटल युगमा पत्रकारिता नयाँ अवसरसँगै चुनौतीको घेरामा रहेको उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमको दिगोपनाका लागि नीति तथा बजार दुवै पक्षबाट सहयोग आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, फोनिजका संस्थापक अध्यक्ष दिपिन राई, फोनिज केन्द्रीय सदस्य भूमिका फियाक लिम्बु, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस युनियन झापाकी उपाध्यक्ष सविना लिम्बु तथा नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यले पत्रकारिताको वर्तमान अवस्था, बजारको प्रभाव, व्यावसायिक स्थायित्व र सञ्चार नीतिका विषयमा धारणा राखेका थिए ।
फोनिज झापाका अध्यक्ष राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तिलक योन्जनले स्वागत मन्तव्य राखेका थिए भने सचिव सन्तोष लिम्बुले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिगो र प्रतिस्पर्धी बनाउन राज्य, स्थानीय तह तथा सरोकारवाला निकायले ठोस नीति र सहयोगका कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिएका थिए ।



















