८ असार २०८३, सोमबार | Tue Jun 23 2026

रोजगारी र सुरक्षित आप्रवासनबारे शिवसताक्षीमा अन्तरक्रिया



शिवसताक्षी– झापाको शिवसताक्षी नगरपालिकामा आन्तरिक रोजगारी सिर्जना, प्रवर्द्धन तथा सुरक्षित आप्रवासनका विषयमा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय तहमा रोजगारीका अवसर विस्तार गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा व्यवस्थित बनाउने विषयमा सरोकारवालाबिच छलफल गरिएको हो ।

शिवसताक्षी नगरपालिकाको रोजगार सेवा केन्द्र र कारितास नेपालको संयुक्त आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा फडेन्द्र दाहालले आन्तरिक रोजगारी प्रवर्द्धन तथा सुरक्षित आप्रवासनसम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो ।कार्यक्रममा होटल व्यवसायी, कृषक, शिक्षक, सहकारीकर्मी तथा अन्य सरोकारवाला सहभागी भएका थिए ।

अन्तरक्रियाका क्रममा प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने कारितास नेपालका सामाजिक परिचालक चिरञ्जीवी लुइँटेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आगामी १० वर्षभित्र नागरिकलाई रोजगारी सुनिश्चित गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको बताए । सीप भएका श्रमिकलाई रोजगारदातासँग जोड्ने र सीपविहीन युवालाई तालिममार्फत दक्ष बनाउने काम भइरहेको उनको भनाइ थियो ।

कारितास नेपालका प्रमुख शंकरकुमार पौडेलले स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरणमा जोड दिँदै पर्यटन क्षेत्रलाई रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।

सहभागीका तर्फबाट श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेल, शिवसताक्षी व्यवसायी संघका अध्यक्ष किरण ओली तथा शिवसताक्षी प्याब्सनका अध्यक्ष रामप्रसाद सुहाङ्गले युवालाई सीपमूलक तालिममार्फत दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

उनीहरूले स्पष्ट रोजगार नीति निर्माण, साना तथा घरेलु उद्योगको प्रवर्द्धन र त्यस्ता उद्योगलाई आवश्यक सहुलियत तथा सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।

उपप्रमुख नरमाया कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले गरेकी थिइन्। रोजगार शाखा प्रमुख विदुर तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा हिमालयन अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार ००:००  ६ : ३७ बजे