झापा– बिर्तामोडस्थित एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले सामाजिक उत्तरदायित्वअन्तर्गत बाह्रदशी गाउँपालिका-७ डाँगीवारीस्थित गौरीशंकर माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई छाता वितरण गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा मार्टका सञ्चालक चान मोहम्मद र व्यवस्थापक गणेश भुजेलले विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवाल, सहायक प्रधानाध्यापक हेम राजवंशी, बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा अधिकृत योगराज पौडेल तथा सूचना अधिकारी हिमाल सुवेदीलाई छाता हस्तान्तरण गरेका थिए ।
सञ्चालक मोहम्मदले वर्षायाममा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज होस् भन्ने उद्देश्यले छाता वितरण गरिएको बताए । व्यापारिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
प्रधानाध्यापक कटुवालले विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी आर्थिक रूपमा विपन्न परिवारका भएकाले यस्तो सहयोग उपयोगी भएको बताए । शिक्षा शाखा अधिकृत पौडेलले निजी क्षेत्र र शैक्षिक संस्थाबीचको सहकार्यले शिक्षाको गुणस्तर सुधारमा योगदान पुग्ने उल्लेख गरे ।
वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्दै आएका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

















