२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

उत्कृष्ट दुई गणित शिक्षक सम्मानित



बिर्तामोड– बिर्तामोड नगरपालिकाले आधारभूत शिक्षा परीक्षा (कक्षा ८) मा उत्कृष्ट सिकाइ उपलब्धि हासिल गराउन योगदान पुर्‍याएका दुई गणित शिक्षकलाई सम्मान गरेको छ ।

नगरपालिकाले शैक्षिक सत्र २०८२ को कक्षा ८ को परीक्षामा उत्कृष्ट औसत नतिजा हासिल गराउने सामुदायिक र संस्थागत विद्यालयका एक-एक शिक्षकलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

सम्मानित हुनेमा सामुदायिक विद्यालयतर्फ वडा नं २ स्थित साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका गणित शिक्षक चुडामणि पौडेल र संस्थागत विद्यालयतर्फ वडा नं ७ स्थित कञ्चन अंग्रेजी बोर्डिङ स्कुलका गणित शिक्षक सागर कोइराला रहेका छन् ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार कक्षा ८ को आधारभूत शिक्षा परीक्षामा साङ्गवेद संस्कृत माध्यमिक विद्यालयले औसत स्तरीकृत अंक ३.२५ र कञ्चन अंग्रेजी बोर्डिङ स्कुलले ३.६२ प्राप्त गरेका थिए । सोही उपलब्धिका आधारमा सम्बन्धित विद्यालयका गणित शिक्षकलाई सम्मान गरिएको हो ।

शैक्षिक सत्र २०८३ को कार्ययोजना तथा प्रतिबद्धता हस्ताक्षर कार्यक्रमका अवसरमा आयोजित समारोहमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरेका थिए ।

नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ००:००  ८ : ४६ बजे