१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी



काठमाडौं- प्रधानमन्त्रीले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरू एकजुट भएका छन् । सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसद्मार्फत माफी माग्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गर्दै दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको ठहर गरिएको बताए ।

‘प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा राष्ट्रघाती छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ दुलालले भने, ‘उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले संसद्बाटै देशवासीसमक्ष माफी माग्नुपर्छ ।’

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले माफी नमागेसम्म र अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाइएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

दुलालका अनुसार प्रतिपक्षी दलहरू प्रधानमन्त्रीको अभिव्यक्तिप्रति साझा धारणा बनाएर संसद्मा अवरोधको रणनीतिसहित अघि बढ्ने निष्कर्षमा पुगेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ००:००  २ : २२ बजे