काठमाडौं- जडीबुटी क्षेत्रबाट गएराति प्रहरीको गोली लागेर पक्राउ परेका ४० वर्षीय गणेश कार्की विभिन्न आपराधिक घटनामा संलग्न पूर्व प्रहरी रहेको खुलेको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार कार्की २०६१ सालमा प्रहरी जवानमा भर्ना भएका थिए भने २०६४ सालमा सेवा छाडेका थिए । उनी कर्तव्य ज्यान, हातहतियार, चोरी तथा डाँकाचोरीलगायतका मुद्दामा संलग्न रहेको प्रहरीको भनाइ छ।
डाँकाचोरी मुद्दामा कैद भुक्तान गरिरहेका कार्की २०८२ भदौमा केन्द्रीय कारागारबाट फरार भएका थिए । फरारपछि उनले आफूलाई प्रहरीको परिचय दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा लुटपाट र चोरीका घटना गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनलाई खोजी गर्ने क्रममा जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकबाट नियन्त्रणमा लिँदा प्रहरीको गोली लागेर बायाँ खुट्टामा चोट लागेको छ । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
















