२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भन्सार दर दोब्बर भएपछि सुनको मूल्य वृद्धि



काठमाडौ- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर दोब्बर बनाएपछि आइतबार नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार बजेटमा घोषणा गरिएको नयाँ भन्सार दर लागू भएसँगै मूल्य समायोजन गर्दा सुनको भाउमा उल्लेख्य वृद्धि भएको हो ।

‘बजेटमा घोषित भन्सार दर भोलिपल्टबाटै लागू हुन्छ। सोहीअनुसार महासंघले मूल्य समायोजन गरेको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य सामान्य मात्र बढेको भए पनि भन्सार शुल्ककै प्रभावले आज सुनको मूल्य करिब २० हजार रुपैयाँले बढेको छ ।’

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमार्फत सुनमा लाग्दै आएको २ प्रतिशत विलासी कर हटाए पनि भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएका छन् ।

सुनको मूल्य निर्धारणमा अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा नेपालमा लाग्ने भन्सार र अन्य करहरूको प्रभाव रहने गर्छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ०.८४ प्रतिशतले मात्र बढेको थियो ।

सुनसँगै चाँदीको भन्सार दर पनि १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ । त्यसको प्रभावस्वरूप चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार ००:००  १२ : १० बजे