कारागारमा सजाय भुक्तान गरिरहेका वृद्ध कैदीको उपचारका क्रममा मृत्यु
झापा-जिल्ला कारागार झापामा जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका पाँचथरका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचथरको साविक नागी गाविस-९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरे रहेका छन् । उनी जिल्ला अदालत झापाको फैसलाअनुसार १० वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।
प्रहरीका अनुसार जेठ ७ गते साँझ ५ बजे कारागारभित्रै घिमिरेलाई अचानक स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि राति ९ः४५ बजे उनलाई थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको थियो ।
जेठ ८ गते राति ८ः५० बजे चिकित्सकको सल्लाहअनुसार उनलाई सोही अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।
बी एण्ड सी अस्पतालमा उपचारकै क्रममा जेठ ९ गते बिहान ३ः४५ बजे घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको शव हाल बी एण्ड सी अस्पतालमै राखिएको छ । घिमिरेले हालसम्म ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका थिए ।
















