काठमाडौँ-नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हट्ने भएको छ। परराष्ट्र मन्त्रालयले भारतीय टी बोर्डले निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी अब सहज हुने जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री ले भारतीय टी बोर्डले गत मे १९ मा निर्देशिका संशोधन गरेपछि चिया निकासीमा देखिएको समस्या समाधानतर्फ गएको बताएका हुन्।
भारतीय टी बोर्डले फेब्रुअरी १० मा जारी गरेको निर्देशिकापछि नेपालबाट भारत जाने चियाको निकासी प्रभावित बनेको थियो। उक्त व्यवस्थापछि नेपाली चिया निर्यातकर्ताले विभिन्न प्रशासनिक तथा प्राविधिक जटिलता भोग्दै आएका थिए।
मन्त्रालयका अनुसार समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासले भारतीय पक्षसँग निरन्तर छलफल, समन्वय र कूटनीतिक पहल गरेका थिए। त्यसपछि भारतीय टी बोर्डले निर्देशिका संशोधन गरेको मन्त्रालयले जनाएको छ।
















