भद्रपुर– ग्यालेक्सी इङ्लिस स्कूलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा ल्याउँदै लगातार दोस्रो वर्ष पनि भद्रपुर नगरपालिकाभित्र निजी विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको छ।
विद्यालयबाट यस वर्ष एसईईमा सहभागी सबै २३ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये ८ जनाले ३.६० भन्दा माथि जिपिए ल्याएका छन् भने १४ जनाले ३.२० भन्दा माथि जिपिए प्राप्त गरेका छन्। एक विद्यार्थीले २.८० भन्दा माथिको जिपिए हासिल गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक वंशलले जानकारी दिए।
विद्यालयले पछिल्ला वर्षहरूमा नतिजासँगै शैक्षिक वातावरण, अनुशासन, पूर्वाधार विकास र आधुनिक शिक्षण पद्धतिमा पनि आफूलाई अब्बल बनाउँदै लगेको जनाएको छ।
भद्रपुर-८ सगरमाथा चोकबाट २०६९ सालमा स्थापना भएको विद्यालय हाल भद्रपुर-९ मा करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको आधुनिक शैक्षिक परिसरबाट सञ्चालन हुँदै आएको छ। फराकिला खेलमैदान, व्यवस्थित भवन, बालमैत्री संरचना र प्रविधिमैत्री कक्षाकोठा विद्यालयका विशेषता रहेको विद्यालयको दाबी छ।

विद्यालयका सहायक प्रधानाध्यापक विवेक चम्लागाईंका अनुसार विद्यालयले पाठ्यपुस्तकमुखी शिक्षाभन्दा व्यवहारिक, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको छ। खेलकुद, नृत्य, सङ्गीत, सिर्जनात्मक गतिविधि तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि ध्यान दिइएको उनले बताए।
गत वर्षदेखि कक्षा ११ को पठनपाठन सुरु गरेको विद्यालयले यस वर्ष पनि व्यवस्थापन संकायअन्तर्गत कम्प्युटर साइन्स र बिजनेस स्टडिज विषयमा भर्ना खुला गरेको जनाएको छ।
एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पवित्रा ढकाल प्रमुख अतिथि थिइन्। विद्यालय व्यवस्थापन समितिका सदस्य रौनक वंशलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्लस टु प्राध्यापक देवीप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका बालक्लब अध्यक्ष सृजन तामाङ, प्राध्यापक कृष्णकुमार मैनाली, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले विद्यालयले गुणस्तरीय शिक्षाका क्षेत्रमा स्थापित गरेको पहिचानको प्रशंसा गरेका थिए। कार्यक्रम सञ्चालन संयोजक लक्ष्मण नेपालले गरेका थिए।
















