झापा-पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट भारत निर्यात हुने नेपाली उत्पादनमध्ये तयारी चिया दोस्रो ठूलो वस्तु हो । तर, भारतीय पक्षले नयाँ गुणस्तर परीक्षण नियम लागू गरेपछि झापा र इलामका उद्योगीले वैशाख १८ (मे १) देखि भारततर्फ चिया पठाउन रोक लगाएका छन् ।
मेची भन्सार कार्यालयका अनुसार त्यसयता उद्योगीहरू चिया निर्यात घोषणा गर्न नै आएका छैनन् । भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले भारतीय पक्षको अवरोधका कारण समस्या उत्पन्न भएको बताए ।
उनका अनुसार भारतको पानीट्यांकी नाकामा विषादी परीक्षण गर्ने ल्याब नहुँदा प्रत्येक ट्रकको नमुना परीक्षणका लागि कलकत्ता पठाउनुपर्ने, त्यसमा कम्तीमा १५ दिन लाग्ने र खर्चसमेत उद्योगीले नै व्यहोर्नुपर्ने अवस्था छ ।
नेपालबाट अर्थोडक्स, सीटीसी र ग्रिनटी भारत लगायतका मुलुकमा निर्यात हुँदै आएको छ । नयाँ नियमपछि परीक्षणका लागि दुई ट्रक चिया पठाइएको भए पनि त्यसको नतिजाबारे कुनै जानकारी नआएको भन्सारले जनाएको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले भारतले नेपाली चियामाथि नियोजित रूपमा अंकुश लगाउन खोजेको आरोप लगाए । उनका अनुसार पहिले एक लटमध्ये एउटा ट्रकको मात्र परीक्षण हुने व्यवस्था रहेकामा अहिले प्रत्येक ट्रकको चिया परीक्षण अनिवार्य गरिएको छ ।
भारतीय टी बोर्डले नेपाली चियालाई तेस्रो मुलुकबाट आएको गुणस्तरहीन चिया भन्दै अवरोध गरिरहेको उद्योगीहरूको गुनासो छ । परीक्षणका लागि एउटा ट्रकको चिया पठाउँदा करिब १५ हजार भारतीय रुपैयाँ खर्च लाग्ने र रिपोर्ट आउन १५ दिनसम्म लाग्ने उनीहरूको भनाइ छ ।
उद्योगीहरूले नेपाल सरकारले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । चिया निर्यात रोकिँदा झापा-इलामका करिब एक सय उद्योग प्रभावित हुने तथा श्रमिक, मजदुर र व्यवसायी सबै मारमा पर्ने उनीहरूको चेतावनी छ ।
मेची भन्सारको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ५४ लाख १६ हजार केजी चिया भारत निर्यात हुँदा ४ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९९ लाख ४३ हजार केजी चिया निकासीबाट २ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
भारतीय अवरोधपछि उद्योगीहरूले बंगलादेश तथा तेस्रो मुलुकमा चिया निर्यातका वैकल्पिक बजार खोज्न सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् ।
















