१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

५० विपन्न परिवारलाई झुल वितरण



भद्रपुर– झापाको भद्रपुर नगरपालिका-५ र ६ का ५० विपन्न परिवारलाई झुल वितरण गरिएको छ । नेपाल-भारत मैत्री संघ झापाले बुधबार भद्रपुर नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी ती परिवारलाई झुल वितरण गरेको हो । 

लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु लगायतका रोगको जोखिम बढिरहेका बेला विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले झुल वितरण गरिएको संघका अध्यक्ष प्रदीपमणि रेग्मीले बताए ।

कार्यक्रममा नेपाल-भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल तथा वडा नं. ६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले झुल हस्तान्तरण गरेका थिए ।

वडाको सिफारिसका आधारमा विपन्न परिवार छनोट गरिएको अध्यक्ष रेग्मीले बताए । उनका अनुसार नेपाल-भारत मैत्री संघको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न स्थानमा विपन्न परिवारलाई झुल वितरण गरिँदै आएको छ ।

कार्यक्रममा वक्ताहरूले नेपाल-भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई यस्ता सहयोगात्मक कार्यक्रमले अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार ००:००  ७ : १७ बजे