२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

विवादमा तानिए गायक रामकृष्ण ढकाल



काठमाडौँ-गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल एक अन्तर्वार्तापछि विवादमा तानिएका छन् । उनले एक कार्यक्रमका क्रममा सहकारी ठगी प्रकरणमा आरोप लागेका रवि लामिछानेलाई आफूले गाडीमा राखेर लगेको दाबी गरेपछि सामाजिक सञ्जालमा आलोचना बढेको हो ।

आफ्नो निर्माणमा तयार भएको फिल्म मालती मङ्गलेको प्रचारका क्रममा दिएको अन्तर्वार्तामा ढकालले उक्त दाबी गरेका हुन् । कार्यक्रममा प्रस्तोताले नख्खु कारागार क्षेत्रबाट लामिछाने बाहिरिँदै गाडी चढेको भिडियो देखाएपछि ढकालले ‘त्यो गाडी आफूले चलाएको’ बताएका थिए ।

ढकालका अनुसार उनी भैँसीपाटी क्षेत्रबाट घुम्दै जाँदा कारागार नजिक पुगेका थिए । त्यही क्रममा बाहिर रहेको एक रेस्टुरेन्टबाट हात हल्लाउँदै आएका लामिछानेलाई देखेपछि आफूले गाडीमा राखेर लगेको उनको भनाइ थियो । ‘त्यो बेला ड्राइभर पनि म आफैं थिएँ’, उनले अन्तर्वार्तामा भनेका छन् ।

यसअघि उक्त घटनासम्बन्धी विभिन्न अड्कलबाजी भए पनि चालकको पहिचान सार्वजनिक भएको थिएन । अहिले ढकाल आफैंले त्यसबारे बोलेपछि पुरानो विषय फेरि चर्चामा आएको हो ।

उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको आलोचना चर्किएको छ। केही प्रयोगकर्ताले फिल्म बहिष्कारको आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार ००:००  १२ : ०४ बजे