१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सरकारी विज्ञापन कटौतीप्रति झापाली सञ्चारकर्मीको चिन्ता



बिर्तामोड-झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा सञ्चार क्षेत्रमाथि बढ्दो चुनौती र सरकारी नीतिका कारण देखिएको संकटबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

‘पत्रकारिताको चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सरकारले निजी सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको विज्ञापन रोक्ने निर्णयले मिडिया क्षेत्र आर्थिक रूपमा संकटमा पर्ने खतरा बढेको बताएका छन् ।

प्राइड मिडिया प्रालिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले उक्त निर्णय तत्काल पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले स्थानीय तहले स्थानीय सञ्चारमाध्यमलाई दिने लोककल्याणकारी सूचना र विज्ञापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी तथा सरोकारवालाहरूले पत्रकारिता क्षेत्र बहुआयामिक संकटको चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै यसको दीर्घकालीन असर सूचना प्रवाहमा पर्ने चेतावनी दिए ।

प्रालिका अध्यक्ष निर्मलराज खत्रीको अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा शाखा अध्यक्ष एकराज गिरी, प्रेस काउन्सिलका पूर्व सदस्य गणेश पोखरेल, पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी प्रेस चौतारी झापा, प्रेस सेन्टर झापा र नारी सञ्चार गृहका प्रतिनिधिहरूले पनि सरकारी निर्णयप्रति आपत्ति जनाउँदै सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नयाँ पेपरकी सह–सम्पादक सुनिरा मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार ००:००  ८ : ५० बजे