८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

गृहमन्त्रीको सम्पत्ति विवादमा एमालेको निष्पक्ष छानबिन माग



काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी एमालेले गृहमन्त्रीसँग जोडिएको सम्पत्ति सार्वजनिक भएको विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित विषयमा उठेका प्रश्नलाई कानुनी दायराभित्र रहेर पारदर्शी, विश्वसनीय र तथ्यमा आधारित ढंगले अनुसन्धान गरिनुपर्ने उल्लेख छ।

एमालेले विधिको शासन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका प्रश्नको तथ्यका आधारमा निरुपण हुनुपर्ने जनाएको हो । नागरिकस्तरबाट उठ्ने जिज्ञासालाई इमान्दारितापूर्वक सम्बोधन गर्नु राजनीतिक संस्कारको विषय भएको पार्टीको भनाइ छ।

विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न नगरी विगतका सम्भावित अनियमितता र विसंगतिका पक्षसमेत उजागर हुन सक्ने संकेत गरेको उल्लेख गरिएको छ।

एमालेले कुनै पनि प्रभाव वा दबाबबाट मुक्त रहने गरी उच्चस्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै गृहमन्त्री स्वयंले अनुसन्धानमा हस्तक्षेप नगरी प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावहीन बनाउन सहयोग गर्नुपर्ने जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  ४ : ४३ बजे