८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा



भरतपुर-नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको भरतपुर वितरण केन्द्रले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म बक्यौता नतिरेका ती ग्राहकबाट १ करोड ४ लाख १७ हजार ३८१ रुपैयाँ उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार पटक–पटक ताकेता गर्दा पनि महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो । “लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकलाई कानुनी प्रक्रिया अनुसार कालोसूचीमा राखिएको छ,” उनले भने ।

बक्यौता असुलीका लागि केन्द्रले चालु आर्थिक वर्षमा १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटेको छ । लगातार छ महिनासम्म विद्युत् महसुल नतिरेका ग्राहकको लाइन विच्छेद गरिएको विष्टले बताए ।

भरतपुर वितरण केन्द्रअन्तर्गत हाल ७४ हजार ८७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट कुल ४९ करोड ४ लाख १० हजार ४३७ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रको तथ्यांक छ ।

कार्यालयले बक्यौता असुलीका लागि लाइन काट्ने, सेवाग्राहीलाई पूर्वसूचना दिने र नियमित अनुगमन गर्ने काम गरिरहेको जनाएको छ । “बक्यौता असुलीका लागि कर्मचारी नियमित रूपमा परिचालित छन्,” विष्टले भने ।

केन्द्रले समयमै महसुल बुझाउन सबै ग्राहकलाई आग्रह गर्दै लामो समयसम्म बक्यौता राख्ने ग्राहकविरुद्ध थप कडा कदम चालिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  १२ : ३८ बजे