८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

हरित ऊर्जातर्फ कदम : झापामा पेलेट उत्पादन सुरु



रोहित काफ्ले
झापामा स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रयासअन्तर्गत पेलेट उत्पादन सुरु गरिएको छ । मेचीनगर–१५ मा रहेको पराजुली बायोमास ब्रिकेट उद्योगले सोमबार नयाँ मेसिन जडान गरी औपचारिक रूपमा पेलेट उत्पादन थालेको हो ।

उद्योगका सञ्चालक चण्डीप्रसाद पराजुली र आदित्य पराजुलीले संयुक्त रूपमा मेसिन सञ्चालन गर्दै उत्पादनको शुभारम्भ गरेका हुन्। उनीहरूले स्थानीय स्रोत र प्रविधिको प्रयोगमार्फत हरित ऊर्जाको प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको बताए ।

पेलेट ऊर्जा विशेषगरी चिया उद्योग, सिमेन्ट, इँटा तथा अन्य औद्योगिक प्रयोजनमा इन्धनका रूपमा प्रयोग हुने जनाइएको छ । उद्योगका व्यवस्थापकीय निर्देशक आदित्य पराजुलीका अनुसार कोइला र अन्य जीवाश्म इन्धनको विकल्पका रूपमा पेलेट ऊर्जा प्रभावकारी हुने विश्वासका साथ उत्पादन सुरु गरिएको हो ।

उद्योगहरूलाई सस्तो, दिगो र वातावरणमैत्री इन्धन उपलब्ध गराउने हाम्रो लक्ष्य हो, उनले भने । उद्योगले जडान गरेको नयाँ मेसिन १२ घण्टा सञ्चालन हुँदा दैनिक करिब ६० हजार किलोसम्म पेलेट उत्पादन गर्न सक्ने क्षमता राख्छ ।

यो उत्पादनले स्थानीय बजारको माग पूरा गर्नुका साथै अन्य जिल्ला र छिमेकी भारतसम्म निर्यातको सम्भावना रहेको उद्योगले जनाएको छ । उत्पादन सुरु हुनुअघि नै नेपालगञ्जको एक स्टिल उद्योगबाट माग आइसकेको र भारतबाट समेत चासो देखिएको आदित्यले बताए ।

पेलेट उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ पूर्ण रूपमा स्थानीय स्तरमै उपलब्ध हुने उद्योगको भनाइ छ । फालिने भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिङ्गर, बाँसका टुक्रा तथा विभिन्न काठजन्य अवशेष प्रशोधन गरेर पेलेट बनाइन्छ । यसले फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने उद्योगका अध्यक्ष चण्डीप्रसाद पराजुलीले बताए ।

हामीले सुरु गरेको पेलेट उत्पादनले वातावरण संरक्षणमा मात्रै होइन, कोइला आयात घटाउँदै देशको व्यापार घाटा कम गर्न पनि योगदान पुर्‍याउँछ, उनले भने । नेपालमा ऊर्जा आयातमा ठूलो रकम बाहिरिने भएकाले यस्ता वैकल्पिक ऊर्जाका स्रोतलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।

झापामा यस प्रकारको उद्योग दोस्रो हो। यसअघि सञ्चालनमा आएको यस्तै उद्योगको उत्पादन सीमित बन्दै गइरहेका बेला नयाँ उद्योग स्थापना भएको हो । स्थानीय तहका जनप्रतिनिधिले पनि उद्योगको पहललाई सकारात्मक रूपमा लिएका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले यस्ता उद्योगले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उद्योग सञ्चालनसँगै दर्जनौं युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने कच्चा पदार्थ संकलन र ढुवानीमा पनि धेरैलाई आयआर्जनको अवसर सिर्जना भएको छ ।

वातावरणविद्हरूले जैविक फोहोरको पुनःप्रयोगमार्फत ऊर्जा उत्पादनलाई दिगो विकासतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन् । वन क्षेत्र संरक्षण, कार्बन उत्सर्जनमा कमी तथा ऊर्जा सुरक्षामा वृद्धि जस्ता पक्षमा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

नेपालमा औद्योगिक तथा घरेलु प्रयोजनका लागि प्रयोग हुने अधिकांश इन्धन आयातमै निर्भर रहेको अवस्थामा स्थानीय स्रोतमा आधारित ऊर्जा उत्पादनले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ नयाँ सम्भावना देखाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  ११ : ४७ बजे