१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

फाल्गुनन्दमा आधारभूत अस्पताल



पाँचथर- फाल्गुनन्द गाउँपालिका मा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । फाल्गुनन्द–५ फाक्तेपस्थित अस्पतालले शनिबारदेखि सेवा सुरु गरेको हो ।

ग्रामीण क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित निर्माण गरिएको अस्पताल उद्घाटनअघि नै सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्वेले बताए ।

संघीय सरकारको नीतिअनुसार २०७७ मंसिर १५ मा शिलान्यास भएका ३ सय ९६ आधारभूत अस्पतालमध्ये यो पनि एक हो । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा डेढतले भवन निर्माण गरिएको छ ।

करिब ६ करोड ४६ लाख रुपैयाँ लागतमा जयमाता जीआरडी जेभी ले निर्माण गरेको अस्पतालमा इमर्जेन्सी, प्रसूति, अपरेसन थिएटर, एक्स–रे, ईसीजी, यूएसजी, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो का अनुसार अस्पतालमा एक जना मेडिकल अधिकृतसहित १८ जनाको दरबन्दी कायम गरिएको छ ।

स्थानीयस्तरमै उपचार सेवा उपलब्ध हुन थालेपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  १ : १३ बजे