बिर्तामोड– बिर्तामोड नगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउने अभियान पुनः सुरु गरेको छ। नगर प्रहरीको टोलीले शुक्रबार कृषिथोक रोड आसपासका क्षेत्रमा सडक पेटी खाली गराएको हो।
नगरपालिकाले यसअघि पटक-पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सामग्री नराख्न आग्रह गर्दै आएको थियो। तर पैदलयात्रु र सवारी आवागमनमा अवरोध हुने गरी फुटपाथमै व्यापार हुन थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान कडाइका साथ अघि बढाइएको जनाएको छ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गत वर्षदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको बताउँदै अब जनप्रतिनिधिको प्रत्यक्ष नेतृत्वमा सबै क्षेत्रमा सडक पेटी खाली गराइने जानकारी दिए।
कृषिथोक रोड क्षेत्रमा पछिल्ला तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गर्ने व्यवसायीको सामान जफत गर्न थालिएको नगर प्रहरीका सह–इन्चार्ज टंक तिम्सिनाले बताए।
स्थानीयवासीले फुटपाथमा सामग्री राखेर व्यापार गर्दा पैदलयात्रुलाई हिँडडुल गर्न समस्या भएको गुनासो गर्दै आएका थिए। नगरपालिकाले सार्वजनिक स्थल अतिक्रमणमा शून्य सहनशीलता अपनाउने संकेत दिएको छ।
















