२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

मोरङ सन्थाल क्लव ७-१ गोल अन्तरले पराजित



बिर्तामोड– झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकपमा आयोजक सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोडले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

मंगलबार भएको खेलमा आयोजक टोलीले मोरङ सन्थाल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । खेलभर आक्रामक देखिएको आयोजक टोलीले मोरङमाथि पूर्ण नियन्त्रण जमाएको थियो ।

आयोजकका लागि श्याम मुर्मुले ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका छन् । उनले २०, ३७ र ५२ औँ मिनेटमा गोल गरेका छन् । यस्तै रोहित हेमरमले १८ र ३४ औँ मिनेटमा गोल थपे ।

अन्य दुई गोल आत्मघाती भएका थिए । मोरङ सन्थाल क्लबका तर्फबाट सान्त्वना एक गोल फर्किएको थियो । तीन गोल गरेका मुर्मु ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद १५ सय रुपैयाँ प्राप्त गरे ।

सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड-६ द्वारा आयोजित प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षक रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन्।

चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ पाउनेछ …

बुधबार हुने पहिलो सेमिफाइनल खेल हात्तीमार र हल्दीबारीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार ००:००  ८ : ५४ बजे