काठमाडौँ– वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले आरोपी एजेन्टहरूको विवरण अनलाइनमार्फत सार्वजनिक गर्न थालेको छ । विभागले मार्च महिनामा मात्र ३५२ जनाको नाम सार्वजनिक गरेको जनाएको छ ।
सूची हरेक तीन दिनमा अद्यावधिक गरिने र पीडितसँग मिलापत्र भएमा मात्र नाम हटाइने व्यवस्था गरिएको छ । अधिकांश ठगी व्यक्तिगत रूपमा हुने गरेको विभागको निष्कर्ष छ ।
एउटै उजुरीमा सयौं व्यक्ति प्रतिवादी बनाइएको उदाहरणसमेत रहेको जनाइएको छ । पक्राउ पुर्जीसम्बन्धी सूचना अब एसएमएसमार्फत पीडितलाई दिने व्यवस्था मिलाइएको छ ।
महानिर्देशक मीरा आचार्यका अनुसार एउटै व्यक्ति वा गिरोहले विभिन्न जिल्लामा पुगेर ठूलो संख्यामा युवालाई ठग्ने प्रवृत्ति देखिएकाले सूची सार्वजनिक गर्न थालिएको हो ।
यसैबीच, श्रम मन्त्रालयले ठगी नियन्त्रण र श्रमिक संरक्षणका उपाय कडाइका साथ लागू गर्ने जनाएको छ । श्रममन्त्री दीपककुमार साहले ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
मन्त्रालयले श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट हटाउने र न्यूनतम पारिश्रमिक अनिवार्य गर्ने निर्णयसमेत अघि बढाएको छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार श्रम ऐन, २०७४ बमोजिम ‘ट्रेनी’ र ‘इन्टर्न’ लाई समेत पारिश्रमिकसहित सामाजिक सुरक्षा सुविधा दिनुपर्ने व्यवस्था रहेको छ ।
















