काठमाडौँ– अब देशभरका विद्यालयहरू सातामा पाँच दिन मात्र सञ्चालन हुने भएका छन्। शनिबार र आइतबार दुवै दिन बिदा दिने व्यवस्था सरकारले चैत्र २३ गतेदेखि लागू गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारीसँगै निजी विद्यालयहरूमा पनि दुई दिन साप्ताहिक बिदा लागू गरिने जानकारी दिए।
‘विद्यालय तहमा विद्यार्थी र शिक्षक दुवैको कार्य–जीवन सन्तुलनलाई ध्यान दिँदै यो व्यवस्था गरिएको हो’, उनले भने। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अब देशभरका सबै विद्यालयहरू सातामा पाँच दिन मात्र सञ्चालन हुनेछन्।
विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म खुल्ने गरेका थिए भने अब नयाँ तालिकाअनुसार पढाइ समय व्यवस्थापन गरिनेछ।
मन्त्रालयले पढाइको समय, पाठ्यक्रम व्यवस्थापन र वार्षिक कार्यदिन नघट्ने गरी आन्तरिक तालिका मिलाउन विद्यालयहरूलाई निर्देशन दिने तयारी गरेको जनाएको छ।
यससँगै सरकारले सरकारी कार्यालयहरूको समयसमेत परिमार्जन गरेको छ। अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् र त्यहाँ पनि शनिबार र आइतबार बिदा रहनेछ।
सरकारले नयाँ व्यवस्थाले शैक्षिक गुणस्तरमा असर नपर्ने र सेवा प्रवाह तथा दैनिक जीवन दुवैमा सन्तुलन ल्याउने अपेक्षा गरेको छ।















