२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

बिर्तामोड उद्योग वाणिज्य संघ र होमकेयरबीच स्वास्थ्य सेवामा सहकार्य



बिर्तामोडबिर्तामोड उद्योग वाणिज्य संघजीवन रक्षा होमकेयर प्रा.लि.बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ।

संघका सदस्य तथा उनीहरूका परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सम्झौता गरिएको हो। सम्झौतापत्रमा संघका अध्यक्ष राजु न्यौपाने र होमकेयरका डा. चेवनराज कार्कीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार संघका सदस्य र उनीहरूका परिवारलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। स्वास्थ्य परीक्षण, नर्सिङ सेवा, परामर्श तथा आकस्मिक उपचारलगायत सेवामा सहुलियत दर लागू गरिने जनाइएको छ। साथै स्वास्थ्य शिविर, सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

सेवा लिन चाहने सदस्यको पहिचान बिर्तामोड उद्योग वाणिज्य संघले प्रमाणित गर्नेछ। सदस्यता प्रमाणपत्र वा नवीकरण रसिदका आधारमा मात्र सेवा तथा छुट सुविधा उपलब्ध हुने जनाइएको छ।

सम्झौतामा होमकेयरले गुणस्तरीय र समयमै सेवा उपलब्ध गराउने तथा संघले सदस्यबीच सूचना प्रवाह र सहजीकरण गर्ने जिम्मेवारी लिएको उल्लेख छ। सम्झौता एक आर्थिक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार ००:००  ७ : ३३ बजे