२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

इष्टर्न साहारा आईपीओका लागि सेबोनको पाइपलाइनमा



बिर्तामोड– झापाको बिर्तामोडस्थित इष्टर्न साहारा कम्पनी लिमिटेड प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा परेको छ। बोर्डले मंगलबार कम्पनीलाई आईपीओ स्वीकृतिका लागि पाइपलाइनमा राखेको हो।

इन्भेष्टमेन्ट क्षेत्रअन्तर्गत पाइपलाइनको पाँचौं स्थानमा रहेको कम्पनीले सर्वसाधारणका लागि २७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

०७९ मंसिर ११ गते स्थापना भएको कम्पनीले ‘दीगो लगानीका लागि हरित लगानी’ नारासहित ग्रीन फाइनान्सिङमार्फत लगानी विस्तार गर्दै आएको जनाएको छ। कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीले हरित लगानीमार्फत दीगो समृद्धि सिर्जना गर्दै अग्रणी इन्भेष्टमेन्ट कम्पनी बन्ने लक्ष्य राखिएको बताए।

उनका अनुसार कम्पनी हाल ऋणमुक्त रहेको छ भने लाभांश र ब्याज आम्दानीबाटै सञ्चालन खर्च व्यवस्थापन हुँदै आएको छ। साना–साना पूँजीलाई एकीकृत गर्दै नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको छ।

कम्पनीले बुढी गण्डकी, माथिल्लो तमोर, सुपर आँखुखोला, इसुवा खोला, बलेफी–एलगायत जलविद्युत आयोजना तथा अन्य विभिन्न औद्योगिक र वित्तीय क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ।

गत पुस २७ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाअनुसार कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब ३७ करोड ५० लाख र चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। सञ्चित मुनाफा ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको छ।

प्रतिशेयर आम्दानी २५५ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेटवर्थ १०२ रुपैयाँ ८१ पैसा रहेको कम्पनीले जनाएको छ। आईपीओ प्रक्रियामा प्रवेश गरेसँगै लगानीकर्तामा उत्साह देखिएको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार ००:००  १० : ०६ बजे