१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

३१ वर्ष सजाय तोकिएका फरार अभियुक्त पुनः लागूऔषधसहित पक्राउ



काठमाडौँ– लागूऔषध मुद्दामा ३१ वर्ष कैद सजाय तोकिएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पुनः लागूऔषधसहित पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरोले झापा हल्दीबारी गाउँपालिका-१ का २८ वर्षीय अन्जान राईलाई काठमाडौं महानगरपालिका-७ बाट चैत १३ गते पक्राउ गरेको जनाएको छ।

उनको साथबाट २५३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको छ । ब्यूरोका अनुसार राई यसअघि लागूऔषधसम्बन्धी चार मुद्दामा दोषी ठहर भई काठमाडौं जिल्ला अदालतबाट ३१ वर्ष कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए ।

केन्द्रीय कारागार काठमाडौंमा कैद भुक्तानका क्रममा उनी फरार भएका थिए । अनुसन्धानका क्रममा राईसँग संलग्न रहेको आरोपमा थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

चैत १४ गते काठमाडौंको टोखा नगरपालिका-३ बाट झापा बिर्तामोड नगरपालिका-४ का ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र सोही ठाउँका २४ वर्षीय राहुल डंगोल पक्राउ परेका हुन्। उनीहरूको साथबाट ५२.७५० ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले लामो निगरानीपछि फरार अभियुक्तलाई पुनः नियन्त्रणमा लिन सफल भएको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार ००:००  ८ : ५४ बजे