१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

ग्रीनफिल्डको नवौँ वार्षिकोत्सव : बाल प्रतिभाको प्रस्तुतिले अभिभावक दङ्ग



बिर्तामोड-ग्रीनफिल्ड वर्ल्ड स्कूलले आइतबार नवौँ वार्षिक उत्सव मनाएको छ । विद्यार्थी बालप्रतिभाको विभिन्न सांगीतिक प्रस्तुतिसहित ग्रीनफिल्डले वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा कक्षा ३ देखि ९ सम्मका विद्यार्थीले कक्षागत रूपमा आफ्नो प्रस्तुति राखेका छन् ।

कार्यक्रममा विद्यार्थी बालप्रतिभाले सामूहिक रूपमा नृत्य र गायन प्रस्तुत गरेका छन् । बाल प्रतिभाको कलात्मक अभिनय रहेका दुईवटा नाटक पनि कार्यक्रममा देखाइएको छ ।

सहभागी बालबालिकाले कविता र वक्तृत्व पनि प्रस्तुत गरेका छन् । बाल प्रतिभाहरूको प्रस्तुतिले अभिभावकलाई दङ्ग पारेको छ । मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले बाल प्रतिभाको विकास र गुणस्तरीय शिक्षा अभिवृद्धिका क्षेत्रमा ग्रीनफिल्डले नौ वर्षको अवधिमा कमाल गरेको बताए । विद्यालयका संस्थापक तथा राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको अध्यक्षतामा वार्षिक उत्सव समारोह सञ्चालन गरिएको हो ।

कार्यक्रममा संस्थापक बस्नेतले नयाँ अवधारणा अनुसार विद्यालय सञ्चालन भइरहेको बताए । सरकारले लिनुपर्ने शैक्षिक दायित्व निजी क्षेत्रले लिएर काम गरिरहेको सन्दर्भमा देखिएका कतिपय चुनौतीलाई सामना गर्दै आफूहरू अगाडि बढेको संस्थापक बस्नेतको धारणा छ ।

विद्यालय शिक्षाको महत्वलाई उच्च प्राथमिकता दिँदै बस्नेतको परिकल्पनामा बिर्तामोडमा बाल्मिकी एजुकेसन फाउन्डेसन सुरु भएको थियो । विद्यार्थीको बढ्दो आकर्षणसँगै बाल्मिकीले नयाँ उचाइ प्राप्त गरेको छ ।

बाल्मिकीपछि ग्रीनफिल्ड वर्ल्ड स्कूलको अवधारणा अगाडि सारिएको हो । प्रविधिमा आएको परिवर्तनसँगै स्मार्ट प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य राखेर ग्रीनफिल्ड स्थापना भएको थियो ।

विद्यालयका निर्देशक आनन्दकुमार बस्नेतको नेतृत्वमा अहिले ग्रीनफिल्ड सञ्चालन भइरहेको छ । वार्षिक उत्सव समारोहमा बोल्दै विद्यालयका कोअर्डिनेटर बर्नाड लामाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा अन्तर्निहित प्रतिभाको विकासका लागि विद्यालय सधैँ प्रयत्नरत रहेको बताए ।

कार्यक्रममा वाल्मीकि एजुकेशन फाउण्डेशनका प्रिन्सिपल पवन गिरी, सञ्चालक मनिषा बस्नेत, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्रकुमार चम्लगाई, समाजसेवी जीतेन्द्र वस्नेत, पूर्वाञ्चल दैनिकका सम्पादक लक्ष्मण ढकाल, सह सम्पादक सुरेन्द्र भण्डारी लगायतकाे आतिथ्य रहेको छ ।

शिक्षक सुशीला घिमिरे र विद्यार्थी सागर ढकाल तथा एञ्जीला विमलीले संयुक्त रूपमा वार्षिक उत्सव समारोह सञ्चालन गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार ००:००  ९ : २८ बजे