२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

कोशी प्रदेशमै पहिलोपटक दूरबिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया



झापा– झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालले कोशी प्रदेशमै पहिलो पटक दूरबिन (एन्डोस्कोपिक) प्रविधिबाट मेरुदण्डको सफल शल्यक्रिया गरेको जनाएको छ । अस्पतालका अनुसार शिवसताक्षी-८ का १८ वर्षीय युकेश लिम्बूको मेरुदण्डको नसामा भएको च्यापिने समस्या (स्पाइनल नर्भ कम्प्रेसन) को यही प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो ।

केही समयदेखि देब्रे खुट्टा चलाउन कठिनाइ भोगिरहेका लिम्बूले अन्यत्र उपचारको प्रयास गरे पनि स्पष्ट विकल्प नपाएपछि बिर्तासिटी अस्पताल पुगेका थिए । अस्पतालका अर्थोपेडिक तथा स्पाइन सर्जन डा. रुपेशजंग बेलवासेको नेतृत्वमा असार १८ गते गरिएको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।

डा. बेलवासेले चीनको पेकिङ विश्वविद्यालयमा विशेष तालिम लिएपछि उक्त प्रविधि नेपालमा प्रयोगमा ल्याएको बताए । उनका अनुसार एन्डोस्कोपिक विधिमा शरीरमा ठूलो चिरा लगाउनुपर्दैन ।

दुईवटा साना प्वालबाट विशेष दूरबिन र उपकरणको सहायताले च्यापिएको नसासम्म पुगेर उपचार गरिने भएकाले बिरामीलाई कम पीडा हुने, संक्रमणको जोखिम घट्ने र छिट्टै सामान्य अवस्थामा फर्कन सकिने सुविधा हुन्छ ।

‘परम्परागत खुला शल्यक्रियापछि बिरामीले लामोसमय आराम गर्नुपर्छ,’ उनले भने, ‘तर एन्डोस्कोपिक विधिबाट गरिएको शल्यक्रियापछि बिरामी भोलिपल्टदेखि नै हिँडडुल गर्न सक्छन्।’

अस्पतालका अनुसार यस विधिमा रड वा अन्य धातुजन्य संरचना राख्नुपर्ने आवश्यकता नपर्ने, रक्तस्राव कम हुने र अस्पताल बसाइ पनि छोटिने भएकाले उपचार खर्चसमेत तुलनात्मक रूपमा कम पर्न सक्छ।

शल्यक्रियापछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको लिम्बूले बताए। उनी हाल सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहे छिट्टै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

पूर्वी नेपालमा न्यून चिरफार (मिनिमली इनभेसिभ) प्रविधिबाट मेरुदण्डको उपचार सेवा विस्तार भएपछि बिरामीलाई उपचारका लागि काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको डा. बेलवासेको भनाइ छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार ००:००  ८ : ०७ बजे