सुब्रत न्यौपाने बिर्तामोड- खेतीयोग्य जमिनको क्षेत्रफल घटे पनि झापाका किसानले यसवर्ष अघिल्लो वर्ष भन्दाबढी धान फलाएका छन् । उन्नत जातको बीउको प्रयोग र पर्याप्त सिंचाई सुविधा लगायतका कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष झापामा धानको उत्पादन बढेको हो ।
कृषि ज्ञान केन्द्र झापाले यसवर्ष धानको उत्पादन बढ्नुलाई मौसमी अनुकूलताका रूपमा विश्लेषण गरेको छ । अघिल्लो वर्षको तुलनामा खेतीयोग्य जमिन घटेपनि धानको उत्पादन भने बढेको छ ।
उन्नत जातको बीउको प्रयोग, खेती गर्ने सिजनमा रासायनिक मलको उपलब्धता र सिंचाई सुविधाका कारण धानको उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर बिष्टले बताए ।
यसवर्ष झापाको ८५ हजार सात सय ५० हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको थियो । त्यसबाट चार लाख ३६ हजार चार सय ६७।५ मेट्रिक टन धान उत्पादन भएको छ ।
अघिल्लो वर्ष ८६ हजार ६ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा झापाका किसानले चार लाख २७ हजार आठ सय ७५ मेट्रिक टन धान फलाएका थिए ।
निमित्त प्रमुख विष्टका अनुसार समयमा रोग कीराको प्रकोप नियन्त्रण सकिएकाले पनि उत्पादन बढेको हो । झापाका अधिकांश स्थानीय तहले यसवर्ष किसानलाई उन्नत जातको धानको बीउ उपलब्ध गराएका थिए । यसले पनि धानको उत्पादन बढाउन सहयोग पुगेको छ ।
अन्न भण्डारको जिल्लाका रूपमा चिनिएको झापामा यसवर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलब ०९ छ । खेती किसानीका भरमा जीवन चलाउँदै आएका किसान उत्पादन बढेपछि हर्षित छन् ।
उत्पादन बढे पनि लागत अनुसार धानको उचित मूल्य पाइन्छ कि पाइँदैन भन्ने किसानको यसअघिको निराशा हटेको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यभन्दा माथि झापाका बजारमा धानको कारोबार भइरहेको किसान राजेन्द्र कडरिया बताउँछन् ।
ज्ञान केन्द्रका अनुसार झापामा ५ देखि ७ जातका धानबाली लगाइएको छ । उत्पादनमा भएको वृद्धि र समर्थन मूल्यभन्दा माथि धानको किनबेचमा भइरहेको कारोबारले यसवर्ष ठूलो राहत पाएको किसानको अनुभव छ ।
















