१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

सहकारी संघको वित्तीय कारोबार नियामकीय दायरामा ल्याउने विषयमा छलफल



काठमाडौं-बचत तथा ऋणको कारोबार गर्दै आएका विभिन्न तहका सहकारी संघ तथा सहकारी बैंकको वित्तीय कारोबारलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको नियामकीय दायराभित्र ल्याएर व्यवस्थित गर्ने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ–संस्थाका प्रतिनिधिसँग बिहीबार नेफ्स्कूनको केन्द्रीय कार्यालयमा छलफल गरेको हो।

अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष खगराज शर्मा, विज्ञ सदस्य डा. रमेश चौलागाईं, सीए महेश खनाल, सुशीलकुमार दास, श्रीधर ज्ञवाली, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, निवर्तमान अध्यक्ष डा. परितोष पौड्याल, सल्लाहकार ऋषिराज घिमिरे, महासचिव घनश्याम अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालगायत सहभागी थिए।

छलफलमा सहकारी संस्थालाई सदस्य बाहेकका वित्तीय स्रोत किन आवश्यक पर्छ भन्ने प्रश्नदेखि सदस्य संस्थाको बचत स्रोतबाट मात्रै संघहरूको दीगो ऋण लगानी कत्तिको सम्भव हुन्छ भन्ने विषयमा विमर्श भएको थियो।

यस्तै, अन्य देशमा सहकारी संघहरूले वित्तीय कारोबार सञ्चालन गरेका अभ्यास, वित्तीय कारोबार र सुशासन तथा सुपरिवेक्षणबीच देखिन सक्ने स्वार्थको द्वन्द्व, विद्यमान कानुनी आधार, वित्तीय कारोबारको निरन्तरता, आवश्यक संघहरूको संख्या, नियामक निकायको स्वरूप तथा वैकल्पिक मोडेलबारे समेत सहभागीहरूले धारणा राखेका थिए।

प्राधिकरणले सहकारी क्षेत्रको वित्तीय कारोबारलाई थप पारदर्शी, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक नीतिगत सुझाव संकलनका लागि यस्तो परामर्श सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार ००:००  ७ : ५० बजे