झापा-शिवसताक्षी नगरपालिका-५ ले राजवंशी र मैथिली भाषालाई वडा कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरेको छ । कोशी प्रदेश सरकारले नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजको मान्यता दिएपछि झापामा स्थानीय तहबाट त्यसको कार्यान्वयन थालिएको हो ।
वडाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिकिन पासवानले दुवै भाषालाई कार्यालयको कामकाजमा प्रयोग गर्ने घोषणा गरे । उनका अनुसार वडामा राजवंशी र मैथिली भाषीको उल्लेख्य बसोबास छ । स्थानीयले आफ्नै भाषामा सरकारी सेवा लिन सकून् भन्ने उद्देश्यले यो पहल गरिएको हो ।
अब वडा कार्यालयमा निवेदन, सिफारिस लगायतका काममा नेपालीसँगै राजवंशी र मैथिली भाषा प्रयोग गरिने अध्यक्ष पासवानले बताए । कार्यालयका कर्मचारीले तीनवटै भाषा बोल्न र बुझ्न सक्ने भएकाले सेवा प्रवाहमा समस्या नहुने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका पूर्व सदस्यसचिव कमल राजवंशीले स्थानीय भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णयलाई ऐतिहासिक पहलका रूपमा व्याख्या गरे ।
विगतमा कोच राज्य रहेको स्मरण गर्दै उनले राजवंशी, ताजपुरिया, गनगाई, धिमाल, कोचे र मेचे समुदायका भाषा तथा संस्कृति संरक्षण गर्नुपर्ने बताए । प्रदेश सरकारले दिएको कानुनी मान्यतालाई व्यवहारमा उतार्न अग्रसर भएकोमा उनले वडा कार्यालयको प्रशंसा गरे ।
कार्यक्रममा पूर्ववडाध्यक्ष सत्यनारायण राजवंशी, नेपाली काङ्ग्रेसका नेता भक्ति सिटौला, राजनारायण राजवंशी र सामाजिक अभियन्ता सूर्यनारायण ताजपुरियालगायतले मातृभाषाको संरक्षण र पुस्तान्तरणमा जोड दिए ।
कोशी प्रदेशसभाले २०८३ असोज २४ मा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक पारित गरेको थियो । प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित ऐनअनुसार नेपालीसँगै मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था छ ।
प्रदेश सरकारले कात्तिक २५ देखि ऐन कार्यान्वयन गर्ने निर्णय गरेको छ । ऐनले स्थानीय तहलाई समेत आफ्नो क्षेत्रको भाषिक अवस्थाअनुसार मातृभाषा सरकारी कामकाजमा प्रयोग गर्ने बाटो खुला गरेको छ ।


















