झापा-विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।
दोहोरो विवरणका आधारमा छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक, पोसाक तथा अन्य सरकारी अनुदान दुरुपयोग भएको हुनसक्ने आशंकामा मन्त्रालयले बिहीबार पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिलाई दोहोरो विवरण हुनुको प्राविधिक कारण र नियतवश गरिएको त्रुटिबारे अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ ।
समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य छन् । विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मी सदस्यसचिव तोकिएका छन् ।
अनौपचारिक अध्ययनमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको देखिएको मन्त्रालयले जनाएको छ । मन्त्री पोखरेलले सरकारी अनुदान दुरुपयोग भएको आशंका गम्भीर रहेको भन्दै छानबिनपछि दोषीलाई कारबाही गरिने बताए ।
दोहोरो तथा फर्जी विवरण हटाएर प्रणालीलाई वास्तविक तथ्याङ्कमा आधारित र पारदर्शी बनाउने मन्त्रालयको लक्ष्य छ ।


















