बिर्तामोड– तिहार आउन १२ दिन बाँकी छँदै झापाका किसानले सयपत्री फूल टिप्न थालेका छन् । तिहार केही ढिलो पर्दा फुलेको फूल समयमै बिक्री नहुने र कुहिने जोखिम बढेपछि किसानले टिपेको फूल कोल्डस्टोरमा राख्न थालेका छन् ।
अर्कातिर, स्थानीय उत्पादनले बजारको माग धान्न सक्ने दाबी गर्दै उनीहरूले भारतीय फूलको आयात रोक्न माग गरेका छन् । तिहार लक्षित व्यावसायिक फूल खेती गरेका किसानलाई यस वर्ष मौसम र बजार व्यवस्थापन दुवैको चिन्ता छ ।
फुलिसकेको सयपत्री लामोसमय बोटमै राख्न नसकिने र वर्षा भए फूल कालो हुने जोखिम रहेकाले समयअगावै टिप्नुपरेको किसान बताउँछन् । टिपिसकेको फूल तिहारसम्म सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरको सहारा लिनुपरेको छ ।
बुद्धशान्ति-३ स्थित कृषि कम्पासका व्यवस्थापक विनोद रिजालका अनुसार तीन-तीन दिनमा फूल टिप्नुपर्ने अवस्था छ । ‘टिपेको फूल सुरक्षित राख्न बिर्तामोडस्थित रोयल कोल्डस्टोरमा पुर्याउन थालेका छौँ,’ उनले भने, ‘फूल राख्न छुट्टै कोल्डस्टोर आवश्यक भए पनि झापामा त्यस्तो सुविधा छैन ।’
झापामा यसवर्ष कनकाईमाईपूर्व १६ बिघाभन्दा बढी जमिनमा सयपत्री खेती गरिएको छ । भद्रपुरसहित जिल्लाका विभिन्न क्षेत्रमा पनि किसानले व्यावसायिक फूल खेती गरेका छन् ।
भद्रपुरमा सोमबार पुष्प कृषक तथा व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा सातबुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै भारतीय फूलको आयात रोक्न माग गरेका छन् । उनीहरूका अनुसार झापामा करिब १० बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।
पुष्प कृषक सुष्मा पौडेलका अनुसार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउन २० जना भन्दाबढी कृषक तथा व्यवसायी सहभागी थिए ।
उनीहरूले स्वदेशी फूललाई स्थानीय बजारमा प्राथमिकता दिन, उत्पादनले माग धान्न सक्ने अवस्थामा भारतीय फूलको आयात रोक्न तथा सीमा र भन्सारमा अनुगमन प्रभावकारी बनाउन माग गरेका छन् ।
स्वदेशी उत्पादनको बजार सुनिश्चितता, उचित मूल्य र व्यावसायिक खेतीका लागि सरकारी सहयोग उपलब्ध गराउन पनि उनीहरूको आग्रह छ । ध्यानाकर्षण पत्र बुझाउने क्रममा झापा क्षेत्र नं. ३ का सांसद प्रकाश पाठक, क्षेत्र नं. ४ का सांसद शम्भु ढकाल र जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्कालगायत उपस्थित थिए ।
रिजालका अनुसार भारतबाट आयात हुने फूलमा फर्मालिन प्रयोग हुने गरेको भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ । ‘स्थानीय उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल गरेर फूल उत्पादन गरेका छौँ,’ उनले भने ।
झापामा उत्पादित फूलमा फर्मालिन प्रयोग नगरिने उनको दाबी छ । स्थानीय उत्पादन पर्याप्त हुने भएकाले भारतीय फूलको प्रयोग नगर्न र झापाकै फूल उपभोग गर्न उनले उपभोक्तालाई आग्रह गरे ।
अर्जुनधारा-१० स्थित मिश्र कृषि फर्मका आयुष मिश्रले पनि मौसमका कारण फूल समयअगावै टिप्नुपरेको बताए । पानी परे फूल कालो हुने जोखिम रहेकाले टिपेर माला उन्दै कोल्डस्टोरमा राख्ने गरिएको उनले जानकारी दिए । किसानका अनुसार झापामा तिहारका लागि आवश्यक पर्ने मालाको माग स्थानीय उत्पादनबाटै धान्न सकिने अनुमान छ ।
किसानले स्वस्थकर फूल उत्पादनसँगै मूल्यमा एकरूपता कायम गर्ने तयारी पनि गरेका छन् । उनीहरूका अनुसार एउटा सयपत्री माला १५० रुपैयाँसम्म पर्नेछ । स्थानीय उत्पादनले बजार पाउने सुनिश्चितता भए फूल खेती विस्तार गर्न सकिने उनीहरूको भनाइ छ ।


















