काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा देशभर भएका सवारी दुर्घटनामा ५०१ जनाको मृत्यु भएको छ । साउन १ देखि असोज २० गतेसम्म ६ हजार १६४ दुर्घटना हुँदा नौ हजार ९७९ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये एक हजार ४१५ जनाको अवस्था गम्भीर छ । उक्त अवधिमा नौ हजार ५७४ वटा सवारी साधन दुर्घटनामा संलग्न भएका छन् ।
दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न देखिएका छन् । कुल दुर्घटनाग्रस्त सवारी साधनमध्ये पाँच हजार ७३२ वटा मोटरसाइकल छन् । त्यसपछि कार, जिप तथा भ्यान एक हजार २२२ र टेम्पो तथा ई-रिक्सा ७९६ वटा दुर्घटनामा परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार दुईपाङ्ग्रे सवारीको संख्या बढी भएकाले दुर्घटनामा मोटरसाइकलको संलग्नता पनि उच्च देखिएको हो ।
तीव्र गति, लापरवाही, ट्राफिक नियमको उल्लङ्घन र मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने प्रहरीको भनाइ छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा पनि दुर्घटनामा संलग्न ४४ हजार ५२९ सवारी साधनमध्ये २६ हजार ४२४ वटा मोटरसाइकल थिए । सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न हेल्मेट तथा सिटबेल्टको प्रयोग, सवारी साधनको नियमित जाँच र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ ।



















