बाढीको जोखिम घटाउन शिवसताक्षीमा विपद् प्रतिकार्य अभ्यास
झापा-बाढी र डुबानको जोखिम न्यूनीकरण तथा विपद्का बेला तत्काल उद्धार र राहत परिचालन गर्ने तयारीस्वरूप झापाको शिवसताक्षी नगरपालिकाले टेबलटप गोलबद्ध अभ्यास गरेको छ ।
नगरपालिकाको सभाहलमा गरिएको अभ्यासमा कृत्रिम बाढी तथा डुबानको परिस्थिति सिर्जना गरी उद्धार, राहत, पुनःस्थापना र अत्यावश्यक सेवा सञ्चालनका विषयमा सरोकारवाला निकायबीच समन्वयको अभ्यास गरिएको हो ।
नगरप्रमुख मेगाहाङ थोप्राको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन संयन्त्रअन्तर्गत नेपाल प्रहरी, नगर प्रहरी, रेडक्रस तथा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधि सहभागी थिए ।
अभ्यासमा खोज तथा उद्धार, आपत्कालीन आश्रय, स्वास्थ्य, खानेपानी, सरसफाइ, शिक्षा र प्रभावित नागरिकको संरक्षणलगायत विषय समेटिएका थिए ।
कनकाई नदी तथा कमल र बनियानी खोलाका कारण शिवसताक्षीका विभिन्न क्षेत्रमा बर्सेनि बाढी र डुबानको समस्या देखिँदै आएको छ । वडा नं. ४, ५, ६, ७ र १० लाई जोखिमयुक्त क्षेत्रका रूपमा लिइएको छ ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले विपद्का बेला सबै सरोकारवाला निकायबीच समन्वय र एकीकृत परिचालन आवश्यक रहेको बताए । अभ्यासले विपद् प्रतिकार्यलाई छिटो र प्रभावकारी बनाउन महत्वपूर्ण सिकाइ प्रदान गरेको उनीहरूको भनाइ थियो ।

नगरप्रमुख थोप्राले विपद्का बेला नागरिकको जीउधन जोगाउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र छिटो प्रतिकार्य आवश्यक रहेको बताए । विपद् व्यवस्थापनका लागि नियमित अभ्यास र क्षमता अभिवृद्धिमा जोड दिँदै आएको उनले उल्लेख गरे ।
कोशी प्रदेशका विपद् विज्ञ रामकुमार दाहालले सहजीकरण गरेको कार्यक्रम असोज २१ गते प्रारम्भिक कार्यशालाबाट सुरु भएको हो । नगरपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा डब्लुएफ सहयोगी संस्था र सन्जेड सहआयोजक छन् ।



















