झापा-शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनका क्रममा धरमपुर बजारका पसलमा ठूलो परिमाणमा म्याद गुज्रिएका तथा लेबल नभएका खाद्यवस्तु फेला परेका छन् ।
नगरपालिकाको टोलीले मंगलबार शिवसताक्षी-१ स्थित धरमपुर बजारमा गरेको अनुगमनका क्रममा कृष्ण किराना एण्ड फेन्सी पसलबाट ठूलो परिमाणमा म्याद गुज्रिएको कुरमुरे बरामद गरेको हो ।
सोही पसलबाट म्याद गुज्रिएको फेन्टा, ढुसी लागेको चना, पान मसला र लेबल नभएको पापडलगायत सामग्रीसमेत फेला परेको नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा कुलुङ होटल, अनिस किराना पसल तथा साया किराना तथा फलफूल पसलमा समेत म्याद गुज्रिएका खाद्य सामग्री भेटिएका थिए ।
अनुगमन समितिकी संयोजक तथा नगर उपप्रमुख नरमाया कार्कीले बजारमा पटक-पटक म्याद गुज्रिएका सामग्री भेटिनु व्यवसायीको हेलचेक्र्याइँको संकेत भएको बताउनुभयो ।
‘नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्यवस्तुको गुणस्तरमा कुनै सम्झौता गर्न सकिँदैन,’ कार्कीले भन्नुभयो, ‘म्याद गुज्रिएका सामग्री बिक्री गरेर नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न व्यवसायीलाई सचेत गराएका छौँ ।’
नगरपालिकाले अनुगमनका क्रममा फेला परेका अखाद्य तथा म्याद गुज्रिएका सामग्री नियमानुसार नष्ट गर्ने जनाएको छ । साथै व्यवसायीलाई खाद्य सामग्रीको म्याद, लेबल, उत्पादन तथा उपभोग्य मिति, मूल्यसूची र भण्डारणको अवस्थाबारे आवश्यक निर्देशन दिइएको छ ।
धरमपुर बजारपछि टोलीले मंगलबारे बजारका पसलमा समेत अनुगमन गरेको थियो । नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमनलाई नियमित बनाउने जनाएको छ ।
अनुगमनमा नगरपालिकाको राजस्व शाखाका कर्मचारी, नेपाल प्रहरी, नगर प्रहरी तथा शिवसताक्षी उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको टोली सहभागी थियो ।



















