मोरङ– मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लेटाङ नगरपालिका-९ हात्तीचोकस्थित भित्री सडकखण्डमा शुक्रबार राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे.४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना राति १०ः३५ बजे भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा झापाको घेराबारी बस्ने २७ वर्षीय मोटरसाइकल चालक कुमार नेपाली, सोही ठाउँका २५ वर्षीय सन्देश नेपाली र मोरङको पथरीशनिश्चरे गाउँपालिका-८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका थिए ।
घाइतेमध्ये कुमारलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे र सन्देश तथा अमरलाई न्युरो अस्पताल विराटनगर पठाइएको थियो । उपचारका क्रममा कुमारको राति १२ बजे र सन्देशको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमरको भने न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















