१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

बिर्तामोडमा असोज १७ देखि चिनोको ‘वेयरहाउस सेल’



बिर्तामोड– नेपाली कपडा ब्रान्ड ‘चिनो’ले दसैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ । असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने सेलको तयारी पूरा भएको कम्पनीले जनाएको छ ।

बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजना हुने सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार सेलमा २ सय ९९ देखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका कपडा खरिद गर्न सकिनेछ ।

कम्पनीले आफ्नै फ्याक्ट्रीमा उत्पादन गरेका कपडा सिधै ग्राहकलाई बिक्री गर्ने भएकाले बजार मूल्यभन्दा सुलभ दरमा पहिरन उपलब्ध गराउन लागिएको जनाएको छ । सेलमा थोक तथा खुद्रा दुवै बिक्री हुनेछन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनो ब्रान्डका विभिन्न पहिरनमा मोडलहरूले र्‍याम्प वाकसमेत गरेका थिए । कम्पनीले दसैँको खरिदका लागि सेललाई लक्षित गरेको जनाएको छ ।

चिनोले यसअघि सुनसरीको इटहरीमा आयोजना गरेको वेयरहाउस सेलमा ४० हजारभन्दा बढी ग्राहक सहभागी भएको दाबी गरेको छ । इटहरीमा पाएको प्रतिक्रिया र ग्राहकको मागका आधारमा बिर्तामोडमा सेल आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक राजेन्द्र डुम्रेले दसैँअघि नै सेल आयोजना भएकाले इटहरीको तुलनामा बिर्तामोडमा अझ बढी ग्राहक आउने अपेक्षा गरिएको बताए । ‘नेपालीका लागि नेपाली ब्रान्ड, अहिले यही कुरा हाम्रो मूलमन्त्र भएको छ’, उनले भने ।

चिनोका संस्थापक नवराज बजगाईंले नेपाली उत्पादनलाई विश्वस्तरीय बनाउने अभियानमा आफूहरू लागेको बताए । कुनै समय गार्मेन्ट उद्योगमा नेपाली समुदायले बनाएको पहिचानलाई चिनोमार्फत पुनः स्थापित गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

हाल महिलाका पहिरनमा केन्द्रित चिनोले छिट्टै पुरुषका कपडा पनि उत्पादन गर्ने योजना बनाएको बजगाईंले जानकारी दिए । कम्पनीका अनुसार चिनोमा करिब ७ सय जनाले रोजगारी पाएका छन्, जसमा करिब ८० प्रतिशत महिला छन् ।

युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको चिनोले डिजाइन र कपडाको गुणस्तरलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । कम्पनीले दसैँका लागि कपडा खरिद गर्ने ग्राहक तथा फेसनप्रेमीलाई बिर्तामोड सेलमा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ८ : ०५ बजे